काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार ओमानमा सम्पन्न खेलमा नेपाली टोली क्यानडासँग २४ रनले पराजित भएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ५६ रन बनायो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोली भने ४६ ओभरमा २३२ रन बनाएर अलआउट हुन पुग्यो ।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रनको योगदान गरे ।
यसैगरी, दीपेन्द्रसिंह ऐरीले २७, इसान पाण्डे र गुल्शन झाले समान २१, आसिफ शेखले २० र रोहित पौडेलले १८ रन बनाए । नेपालले अतिरिक्त रूपमा १४ रन पायो ।

हारसँगै नेपाली टोलीले जारी सिजनको लिग–२ प्रतियोगिता अंक तालिकाको छैटौं स्थानमा रहेर टुंग्याउन अर्को खेलको प्रतिक्षा गर्नुपर्ने भएको छ ।

आफ्नो अन्तिम खेलमा नेपाललाई हराएसँगै क्यानडा २९ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ३५ खेलबाट २८ अंक जोडेको नेपाल भने तालिकाको सातौं स्थानमा झरेको छ ।

नेपालले आफ्नो अन्तिम खेल सोमबार आयोजक ओमानसँग खेल्नेछ । उक्त खेलमा विजयी भए नेपाल ३० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लनेछ ।

त्यसपछि नेपालले जारी लिग–२ प्रतियोगिता पनि छैटौं स्थानमै रहेर टुंग्याउने छ । तर, ओमानसँग पराजित भए नेपालको छैटौं बन्ने सपना समाप्त हुनेछ ।
शनिबार क्यानडाका लागि ओपनर ब्याट्सम्यान युवराज सामराले एक सय पाँच रन बनाएका थिए । उनले एक सय १७ बलको सामना गरी चार छक्का र ११ चौका हिर्काए ।
अर्का ओपनर आरोन जोन्सनले पनि ३६ रन जोडे । ओपनिङ विकेटका लागि सामरा र जोन्सनले ७२ रनको साझेदारी गरे ।
क्यानडाका लागि चौथो नम्बरका ब्याट्सम्यान हर्ष थाकेरले पनि ३४ रन बनाए । सामरा र थाकेरले पनि ८८ रनको साझेदारी गरे । कप्तान हमजा तारिकले पनि ३० रन जोडे ।
नेपाली टोलीका लागि ललित राजवंशी एक्लैले चार विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै ३९ रन खर्चिए । कप्तानसमेत रहेका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए ।
सन्दीपले ४८औँ ओभरमा लगातार दुई बलमा दुई विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरीले दुई विकेट हात पारे । रोहित पौडेलले पनि एक विकेट लिए ।