सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।
कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी मंगलबार (कात्तिक ३) बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गाडी अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका निम्ति पञ्चपुरी आधारभूत अस्पताल पठाइएको छ । घाइतेमध्ये अछामको पञ्चदेवल विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिनालाई थप उपचारका निम्ति प्रदेश अस्पतालमा ‘रिफर’ गरिएको सुर्खेतका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।
घाइते हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, कैलालीका तीन वर्षीय समीर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय विर्ख टमटा, २० वर्षीया शारदा टमटा छन् ।
यस्तै, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, पञ्चदेवल विनायक–८ का ३५ वर्षीय धीराज विक, कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी र सोही ठाउँकी २० वर्षीया शान्ति भण्डारी घाइते छन् ।

प्रहरीका अनुसार, जीवनकला, हेमन्त र गोपाल को अवस्था मध्यम छ । अरू घाइतेको अवस्था सामान्य छ ।

गाडीका चालक अछामका ३५ वर्षीय विष्ण्ॉ शाही दुर्घटनापछि फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सकुशल रहेका बालबालिकासहित १० यात्रुलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको छ ।