काठमाडौं । पाकिस्तानले तीन देश सम्मिलित एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा इङ्ल्यान्डलाई ८७ रनले पराजित गरेको छ ।
मंगलबार भएको खेलमा पाकिस्तानले दिएको ३०३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३८.४ ओभरमा २१५ रनमै समेटिएको थियो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०२ रन बनाएको थियो । उसका हसन नवाजले सर्वाधिक ७९ रन बनाए भने अराफात मिन्हासले ५९ र फहिम अशरफले ३९ रनको योगदान दिए ।
३०३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरेको थियो । टम ब्यान्टनले ५७ र बेन डकेटले ४५ रन बनाए । तर त्यसपछि इङ्ल्यान्डको ब्याटिङ क्रम लगातार धराशायी भयो ।
पाकिस्तानका अराफात मिन्हासले उत्कृष्ट बलिङ गर्दै ४० रन खर्चेर ६ विकेट लिए । हरिस राउफले दुई विकेट लिएपछि इङ्ल्यान्ड लक्ष्यसम्म पुग्न सकेन ।

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका मिन्हास खेलका उत्कृष्ट खेलाडी घोषित भए। यो जितसँगै पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । पाकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई ३७ रनले हराएको थियो ।

पाकिस्तान र इङ्ल्यान्डबीचको अर्को खेल अक्टोबर २५ मा लाहोरमा हुनेछ ।
