काठमाडौं । बडादसैँको मुख्य दिन विजयादशमीमा काठमाडौं उपत्यकामा सर्वसाधारणको आवागमन बढेको छ । मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेपछि आफन्त र इष्टमित्रकहाँ आशीर्वाद लिन जानेहरूको चहलपहल बढेको हो ।
महाअष्टमी र महानवमीका दिन सुनसानजस्तै देखिएको काठमाडौंमा विजयादशमीको टीकापछि चहलपहल फर्किएको छ । निधारमा रातो टीका र कानमा जमरा लगाएका सर्वसाधारण टीका थाप्न तथा आशीर्वाद लिन विभिन्न ठाउँमा पुगिरहेका छन् ।
सर्वसाधारणको आवागमन बढेसँगै सडकमा सवारीसाधनको चाप पनि केही बढेको छ । यद्यपि, दसैँ बिदाका कारण सार्वजनिक सवारीसाधन भने सामान्य दिनको तुलनामा निकै कम सञ्चालनमा छन् ।
नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी विजयादशमीका दिन टीका तथा जमरा लगाउने परम्परा नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइन्छ । दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ ।