काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।
प्रतियोगितामा विश्वकप लिग–२ को पुछारमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताबाट शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ को विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
हालसम्म नेपाल, क्यानडा, यूएई, इटाली र युगान्डाले प्लेअफमा स्थान पक्का गरिसकेका छन्। च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट हुने निश्चित भएको छ भने कुवेतको स्थान पनि लगभग पक्का भएको छ। लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोली प्लेअफमा आउनेछ।
नेपालमा विश्वकप छनोट प्लेअफ आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।
क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको समन्वय र सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।
