काठमाडौं । यस वर्षको कात्तिक महिनामा सेयर बजार जम्मा १२ दिन मात्रै खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को क्यालेन्डरअनुसार दसैं, तिहार र छठ पर्वको बिदाका कारण कात्तिक महिनामा सेयर कारोबार हुने दिन कम भएका हुन्।
क्यालेन्डरअनुसार कात्तिक १ गतेदेखि ६ गतेसम्म दसैं बिदा त्यसपछि कात्तिक ७ र ८ गते शनिबार तथा आइतबार परेकाले बजार बन्द रहेको छ। दसैं बिदापछि कार्तिक ९ गते सोमबारदेखि सेयर कारोबार सुरु हुनेछ।
त्यसपछि कात्तिक २० गते शुक्रबारसम्म नियमित रूपमा सेयर कारोबार हुनेछ। तिहार पर्वका कारण कात्तिक २२ गतेदेखि २६ गतेसम्म बजार बन्द रहनेछ। तिहार बिदापछि कात्तिक २७ गते एक दिन मात्रै सेयर कारोबार हुनेछ।
त्यसैगरी, कात्तिक २९ गते छठ पर्वको बिदा परेको छ। कात्तिक ३० गते सोमबार यस महिनाको अन्तिम कारोबार हुनेछ। यसरी दसैं, तिहार, छठ तथा नियमित साप्ताहिक बिदाका कारण कात्तिक महिनामा सेयर बजार जम्मा १२ कारोबार दिन मात्रै खुल्नेछ।
