काठमाडौं । नेपालमै पहिलो पटक ललितपुर महानगरपालिकाले लिफ्टसहितको आधुनिक आकाशे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
महानगरपालिकाले पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्ने र शारीरिक रूपमा अशक्त व्यक्ति, बालबालिकासहित सबै नागरिकलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले लिफ्टसहितको आधुनिक आकाशे पुल निर्माण गरिरहेको हो ।
ललितपुर महानगरपालिका–१३ स्थित कुसुन्ती हाइटको चक्रपथ क्षेत्रमा निर्माण भइरहेको उक्त पुल अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । यद्यपि, सञ्चालन तथा उद्घाटनको निश्चित मिति भने सार्वजनिक भइसकेको छैन ।

करिब ४ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो पुल परम्परागत आकाशे पुलभन्दा फरक छ । यो पुल निर्माणमा सम्पूर्ण लगानी ललितपुर महानगरपालिकाकै रहेको छ । नेपाल सरकारले प्राविधिक सहयोग स्वीकृति दिने बाहेक आर्थिक रूपमा कुनै पनि सहयोग नगरेको महानगरले जनाएको छ ।

पुल निर्माण हुँदा स्थानीय, पैदलयात्री सबै खुसी भएका छन् । स्थानीय प्रदीपा शर्माले विदेशको जस्तो विकास नेपालमै देख्न पाएको बताइन् । उनले शारीरिक रूपमा अशक्त व्यक्ति, ह्विलचेयर प्रयोगकर्ता, ज्येष्ठ नागरिक र बिरामी, बालबालिकाको सहजताका लागि लिफ्टको पनि व्यवस्था भएकाले खुसी व्यक्त गरिन् ।

पुलको दुवैतर्फ लिफ्टको व्यवस्था गरिने भएकाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, बालबालिका तथा सिँढी चढ्न कठिनाइ हुने अन्य व्यक्तिलाई सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

पुल सञ्चालनमा आएपछि व्यस्त सडकमा जथाभावी बाटो काट्नुपर्ने बाध्यता हट्नुका साथै सडक सुरक्षामा सुधार आउने महानगरको अपेक्षा छ ।

दुर्घटनाको जोखिम घटाउन पुल निर्माण
चक्रपथअन्तर्गत कुसुन्ती हाइट क्षेत्र लामो समयदेखि पैदलयात्रीका लागि जोखिमपूर्ण मानिँदै आएको छ । यस क्षेत्रमा सवारीसाधनको चाप, सडकको चौडाइ र वरपरका विभिन्न सडकको आवागमनका कारण पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न कठिनाइ भोग्नु परेको छ ।
यस क्षेत्रमा सडक पार गर्ने क्रममा ज्यान गुमाउने तथा दुर्घटनामा पर्ने घटना भएका कारण सुरक्षित पैदल आवागमनका लागि छुट्टै संरचनाको आवश्यकता भएकाले लिफ्टसहितको पुल निर्माण गर्ने योजना महानगरले बनाएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।
उनले भने, यस क्षेत्रमा अत्यधिक दुर्घटना हुने गर्छ । अहिलेसम्म बाटो काट्ने क्रममा यस क्षेत्रमा १८र१९ जनाले ज्यान गुमाइसकेका छन् । त्यसैले दुर्घटना न्यूनीकरण र सबै व्यक्तिको सहजताका लागि पुल निर्माण गरिएको हो ।

पुलका डिजाइनर सिनियर आर्किटेक्ट इञ्जिनियर विनोद न्यौपानेले ८० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।
‘अब पुल निर्माणको काम २० प्रतिशत मात्र बाँकी छ । फिनिसिङ गर्नुपर्ने, सौन्दर्यकरण गर्नुपर्ने काम बाँकी छ, यो पुललाई कसरी सुरक्षित बनाउने भन्ने कुरामै फोकस गरी हाम्रो टिम काम गरिरहेको छ ।’ आर्किटेक्ट इञ्जिनियर न्यौपानेले बताए ।
यसअघि पनि कुसुन्तीमा आकाशे पुल निर्माणको आवश्यकता उठ्दै आएको थियो । तर, चक्रपथजस्तो सडकमा संरचना निर्माण गर्न सडक विभागको स्वीकृति आवश्यक पर्ने भएकाले प्रक्रिया अघि बढाउन समय लागेको थियो । सडक विभागबाट अनुमति प्राप्त भएपछि महानगरपालिकाले निर्माण प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाएको थियो ।
लिफ्टको सुविधाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई राहत
नेपालका धेरै आकाशे पुलमा सिँढीको मात्र व्यवस्था हुने भएकाले शारीरिक रूपमा अशक्त व्यक्ति, ह्विलचेयर प्रयोगकर्ता, ज्येष्ठ नागरिक र बिरामीलाई त्यस्ता पुल प्रयोग गर्न कठिनाइ हुने गरेको छ, यो हामी सबैलाई थाहै छ । सिँढी चढ्न र ओर्लन नसक्ने व्यक्तिले आकाशे पुल हुँदाहुँदै पनि सडकबाटै जोखिम मोलेर बाटो काट्नुपर्ने बाध्यता रहेको छ ।

कुसुन्तीमा निर्माण भइरहेको पुलमा लिफ्ट राख्नुको मुख्य उद्देश्य यही समस्या समाधान गर्नु रहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । पुलका दुवैतर्फ लिफ्टको व्यवस्था गरिएपछि हिँडडुल गर्न कठिनाइ हुने व्यक्तिले पनि सडकको सतहबाट माथि पुलसम्म पुगेर अर्को किनारमा ओर्लन सक्नेछन् ।
त्यसैले लिफ्टसहितको संरचनाले अपाङ्गता भएका व्यक्तिको स्वतन्त्र आवागमनलाई प्रोत्साहन गर्नुका साथै सार्वजनिक पूर्वाधार सबैका लागि पहुँचयोग्य हुनुपर्छ भन्ने अवधारणालाई पनि ललितपुर महानगरपालिकाले व्यवहारमा उतारेको छ ।
महानगरपालिकाको यो प्रयासले आकाशे पुललाई केवल सडक पार गर्ने संरचनाका रूपमा नभई सबै उमेर र शारीरिक अवस्थाका नागरिकले समान रूपमा प्रयोग गर्न सक्ने सार्वजनिक पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
करिब पाँच करोड रुपैयाँको लगानी
कुसुन्ती हाइटमा निर्माण भइरहेको आकाशे पुल ४ करोड ६८ लाख बजेटमा निर्माण भइरहेको छ ।
ललितपुर महानगरपालिकाकै बजेटबाट निर्माण भइरहेको यो परियोजनाको प्रारम्भिक लक्ष्य सम्झौताअनुसार एक वर्षभित्र काम सम्पन्न गर्नु थियो । निर्माण २०८० फागुनमा सुरु गरिएको भए पनि प्राविधिक समस्या र निर्माण प्रक्रियामा देखिएका जटिलताका कारण निर्धारित समयमै काम पूरा हुन सकेन ।

हाल पुलको मुख्य संरचना निर्माण भइसकेको र लिफ्ट जडान तथा अन्तिम चरणका काम भइरहेको छ । निर्माणको अन्तिम काम सम्पन्न भएपछि यो पुल सञ्चालनमा आउनेछ ।
निर्माणमा भएको ढिलाइले परियोजनाको समयसीमा लम्ब्याए पनि पुल सञ्चालनमा आएपछि यसले दीर्घकालीन रूपमा पैदलयात्रीको सुरक्षा र सहज आवागमनमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
पाटन अस्पताल आसपास पनि यस्तै पुल बनाउने योजना
कुसुन्तीको परियोजना पूरा भएपछि ललितपुर महानगरपालिकाले पाटन अस्पताल आसपासमा पनि लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने योजना अघि सारेको प्रवक्ता महर्जनले जानकारी दिएका छन् ।
‘अस्पतालमा दैनिक रूपमा बिरामी, ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा अशक्त व्यक्तिको आवतजावत हुने भएकाले त्यहाँ पनि सुरक्षित र सहज सडक पार गर्ने संरचनाको आवश्यकता रहेको देखिन्छ ।’ प्रवक्ता महर्जनले बताए ।
फिजिकल स्टडी भइसकेको पाटन अस्पताल आसपासको प्रस्तावित पुलको निर्माण सुरु हुने मिति, लागत र कार्यतालिकाबारे भने महानगरले अहिलेसम्म कुनै विवरण सार्वजनिक गरेको छैन ।
पाटन अस्पताल क्षेत्रमा खुला स्थान कम भएकाले लिफ्टसहितको पुल निर्माणका लागि अस्पतालको पनि जमिन आवश्यक पर्ने भएकाले स्वास्थ्यमन्त्रीसँग पनि कुरा भइसकेको छ, यसमा स्वास्थ्यमन्त्री पनि सकारात्मक देखिएकाले सम्पूर्ण प्रक्रिया पूरा गरी त्यहाँ पनि लिफ्टसहितको पुल निर्माण गरिने प्रवक्ता राजु महर्जनले बताए ।
सहरी यातायातलाई मानवमैत्री बनाउने प्रयास
काठमाडौं उपत्यकाका मुख्य सडकमा सवारीसाधनको संख्या बढ्दै जाँदा पैदलयात्रीको सुरक्षा र सहज आवागमनमा चुनौती थपिँदै गएको छ । सडक विस्तार र सवारीसाधनको गतिलाई मात्र प्राथमिकता दिँदा पैदल हिँड्ने नागरिक, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका आवश्यकताहरू बेवास्ता गरिन्छ ।
कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माणले सहरी पूर्वाधार विकासमा पहुँचयोग्यता र सडक सुरक्षालाई प्राथमिकता दिनुपर्ने एक महत्वपूर्ण सन्देश दिएको छ । यसले सार्वजनिक संरचना निर्माण गर्दा सबै नागरिकको आवश्यकता समेट्नुपर्ने अवधारणालाई थप बल पनि पुर्याएको छ ।
तर, एउटा पुल निर्माणले मात्र सडक दुर्घटनाको समस्या पूर्ण रूपमा समाधान भने पक्कै हुँदैन । व्यवस्थित फुटपाथ, सुरक्षित जेब्रा क्रसिङ, पर्याप्त सडक बत्ती, ट्राफिक सङ्केत, सवारीसाधनको गति नियन्त्रण र प्रभावकारी सडक अनुगमन पनि आवश्यक छन् ।