काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका बिमितलाई बिमा कम्पनीहरुले ८२ करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।
नेपाल बिमा प्राधिकरणको असोज १० गतेसम्मको तथ्यांकअनुसार उक्त बाढीबाट २० अर्ब ९० करोड रुपैयाँ बराबरको बिमा दाबी परेको थियो । जसमा बिमा कम्पनीहरूले ८२ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी दिएका हुन् जुन रकम अग्रिम भुक्तानीसहित रहेको छ ।
प्राधिकरणका अनुसार हालसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी, शिखर, सगरमाथा लुम्बिनी (सलिको), सिद्धार्थ प्रिमियर, नेको, आईजीआई प्रुडेन्सियल, युनाइटेड अजोड, दि ओरिएन्टल, एनएलजी र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेका छन् ।
हालसम्म सबैभन्दा धेरै दाबी भुक्तानी सलिकोले गरेको छ । यस कम्पनीले २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । सलिकोमा १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँभन्दा बढीको दाबी परेको थियो ।
त्यसैगरी, हिमालयन एभरेष्टले २३ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीमा ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ ।

त्यस्तै, २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँको दाबी परेको शिखरले २१ करोड ४७ लाख रुपैयाँभन्दा बढी भुक्तानी दिएको छ ।

दि ओरिएन्टलले ४ करोड ३६ लाख रुपैयाँ, युनाइटेड अजोडले २ करोड ५४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले १ करोड ६३ लाख रुपैयाँ, सानिमा जीआईसीले ७६ लाख रुपैयाँ, एनएलजीले ९ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ३ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

