सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च कमजोर देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ६१.९४ प्रतिशत मात्रै खर्च भएको हो। यो गत आर्थिक वर्षको तुलनामा ८.२५ प्रतिशत बिन्दुले कम हो।
प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा २० अर्ब ७३ करोड रुपैयाँ मात्रै खर्च गरेको हो। आर्थिक वर्ष २०८१/८२ मा भने कुल विनियोजित बजेटको ७०.१९ प्रतिशत खर्च भएको थियो।
समीक्षा अवधिमा चालू र पुँजीगत दुवै खर्चको प्रगति अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको छ। चालूतर्फ १३ अर्ब ६४ करोड रुपैयाँ विनियोजन भएकोमा ९ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ। यो कुल चालू बजेटको ६३.०८ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अवधिमा चालू खर्च ७५.४३ प्रतिशत रहेको थियो।
त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च पनि अपेक्षाअनुसार हुन सकेको छैन। पुँजीगत शीर्षकमा १९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएकोमा ११ अर्ब ५८ करोड रुपैयाँ मात्रै खर्च भएको छ। यो विनियोजित पुँजीगत बजेटको ५८.४० प्रतिशत हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च ६६.६१ प्रतिशत रहेको थियो ।
प्रदेश स्रोत परिचालन ६७ प्रतिशत

बजेट खर्चसँगै प्रदेश सरकारको स्रोत परिचालन पनि अपेक्षाअनुसार हुन सकेको छैन। आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व र राजस्व बाँडफाँडबाट कुल १९ अर्ब २७ करोड रुपैयाँ प्रदेश स्रोत परिचालन गर्ने लक्ष्य राखिएकोमा १२ अर्ब ९१ करोड रुपैयाँ मात्रै परिचालन भएको छ। यो अनुमानित प्रदेश स्रोतको ६७ प्रतिशत हो।

त्यसैगरी, प्रदेश सरकारले संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी कुल १४ अर्ब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको थियो। तर, समीक्षा अवधिमा संघीय सरकारबाट ७ अर्ब ८२ करोड रुपैयाँ मात्रै अनुदान प्राप्त भएको छ।

समग्रमा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च, चालू तथा पुँजीगत खर्च र स्रोत परिचालनका सूचक अघिल्लो आर्थिक वर्षको तुलनामा कमजोर देखिएका छन्। विशेषगरी पुँजीगत खर्चको न्यून प्रगतिले प्रदेशको विकास निर्माण तथा पूर्वाधार आयोजनाको कार्यान्वयनमा चुनौती रहेको संकेत गर्छ।