काठमाडौं । सिप्रदी अटोपाट्र्स र सिप्रदियन सहायता संस्थाले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिकका लागि बीएस–६ तालिम सुरु गरेका छन्।
कात्तिक १५ देखि सुरु भएको कार्यक्रम कात्तिक २० गतेसम्म देशका विभिन्न १४ स्थानमा सञ्चालन हुने आयोजकले जनाएका छन्।
नेपालमा टाटाका जेन्युइन पाट्र्सको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स र सिप्रदियन सहायता संस्थाले प्राविधिक जनशक्तिको सीप तथा दक्षता बढाउने उद्देश्यले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्। प्रशिक्षणमा टाटा गुरुका रूपमा परिचित प्राविधिक तथा इलेक्ट्रिसियनलाई लक्षित गरिएको छ।
तालिम हेटौँडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणगढ, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगन्जमा सञ्चालन गरिनेछ।
प्रशिक्षणमा आधुनिक सवारी प्रविधिसँगै बीएस–६ अर्थात् भारत स्टेज–६ प्रविधिसम्बन्धी ज्ञान र व्यावहारिक सीप प्रदान गरिनेछ। विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स र विद्युतीय सर्किटसम्बन्धी विषय पाठ्यक्रममा समेटिएका छन्।

मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ प्रणालीबारे पनि प्रशिक्षण दिइनेछ। इन्जिन व्यवस्थापन प्रणालीअन्तर्गत सेन्सर, इलेक्ट्रोनिक कन्ट्रोल युनिट अर्थात् ईसीयू र एक्टुएटरको कार्यप्रणालीबारे जानकारी प्रदान गरिने आयोजकले जनाएका छन्।

यस्तै, उत्सर्जन नियन्त्रणका लागि प्रयोग हुने एससीआर तथा एलएनटी प्रणालीको परिचय, तिनका उपकरणको पहिचान र कार्यप्रणालीबारे तालिम दिइनेछ। प्रणालीको सर्किट विश्लेषण र रिजेनेरेसन प्रक्रियासम्बन्धी विषय पनि प्रशिक्षणमा समावेश छन्।

डायग्नोस्टिक उपकरण प्रयोग गरेर प्राविधिक समस्या पहिचान तथा समाधान गर्ने सीप विकासमा समेत कार्यक्रम केन्द्रित हुनेछ।

तालिमले प्राविधिकलाई नवीनतम सवारी प्रविधिसँग परिचित गराउँदै मर्मत तथा सर्भिसिङको गुणस्तर सुधार्न सहयोग पुर्याउने आयोजकको अपेक्षा छ। साथै, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप बढाएर ग्राहकलाई उपलब्ध हुने सेवालाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको जनाइएको छ।