काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रेडिट रेटिङ डबल ए माइनस बाट डबल ए मा स्तरोन्नति भएको छ। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी क्षमता, लगानी संरचना, बजार उपस्थिति तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ सुधार गरेको हो।
इक्रा नेपालका अनुसार डबल ए रेटिङ प्राप्त संस्थाहरूले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा प्रदान गर्ने र त्यस्ता संस्थामा क्रेडिट जोखिम अत्यन्त न्यून रहने मानिन्छ।
यसअघि नेपाल लाइफ जीवन बीमा क्षेत्रमै इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी बनेको थियो। उक्त रेटिङ एक तह माथि उक्लिएर डबल एमा पुग्नु कम्पनीको वित्तीय सुदृढीकरण तथा संस्थागत उत्कृष्टताको महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ।
इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको छ। यो नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा बढी हो। कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएको छ। यसले कम्पनीको लगानी पोर्टफोलियोलाई थप विविधीकृत र सुदृढ बनाएको जनाइएको छ।
आर्थिक वर्ष २०२५र२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। कम्पनीले उक्त अवधिमा करिब ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष करिब २७३ अर्ब रुपैयाँ र पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ।

सन् २००१ देखि सञ्चालनमा रहेको नेपाल लाइफले सन् २०२६ जुलाई मध्यसम्म देशभर १९६ शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। देशव्यापी शाखा सञ्जाल, सशक्त अभिकर्ता संरचना, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली र बलियो बजार उपस्थितिलाई इक्रा नेपालले कम्पनीका प्रमुख सबल पक्षका रूपमा उल्लेख गरेको छ।

कम्पनीले जोखिम व्यवस्थापनलाई समेत प्राथमिकता दिँदै नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पर्याप्त पुनर्बीमा व्यवस्था कायम गरेको छ। साथै, आकस्मिक तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि पर्याप्त क्याटस्ट्रोफी कभर र करिब १ अर्ब ५४ करोड रुपैयाँको विपद् जगेडा कोष रहेको जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रेटिङ स्तरोन्नतिलाई कम्पनीको निरन्तर सुधार, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा सरोकारवालाको विश्वासको प्रतिफलका रूपमा लिएको बताएका छन्।

उनले भने, “डबल ए माइनसबाट डबल एमा भएको यो स्तरोन्नति नेपाल लाइफको निरन्तर उत्कृष्टता, वित्तीय सुदृढता र दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि हो। यसले हामीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अगाडि बढ्न थप प्रेरित गरेको छ।”
प्रमुख कार्यकारी अधिकृत पराजुलीले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सोल्भेन्सी अवस्था थप सुदृढ बनाउने, लगानी विविधीकरण तथा विवेकपूर्ण जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कम्पनीले सरोकारवालाको दीर्घकालीन हित र विश्वासलाई केन्द्रमा राख्दै वित्तीय स्थायित्व, संस्थागत सुशासन तथा गुणस्तरीय सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ।