काठमाडौं । सर्लाहीको भूमि प्रशासन कार्यालय मलंगवाका नायब सुब्बा निर्मल तिमल्सिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
मोही कायम भएका जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले तिमल्सिनालाई घुसबापत लिइसकेको एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो । उनलाई बुधबार (कात्तिक १८ गते) भूमि प्रशासन कार्यालय सर्लाहीबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार बिहीबार (कात्तिक १९ गते) विशेष अदालतबाट घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ । यस घटनाबारे अख्तियारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।