काठमाडौं । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी बिजुली खपत हुने दिन ‘लक्ष्मीपूजा’को साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ । तिहारको यस प्रमुख दिनमा हुने उच्च मागलाई धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको समयमा देशको कुल विद्युत उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन झन्डै ८०० मेगावाट बढी हुने भएकाले यस वर्ष लक्ष्मीपूजा तथा तिहारभरि विद्युत आपूर्ति सहज र भरपर्दो रहने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।
तिहार र त्यसलगत्तै आउने छठ पर्वमा विद्युत आपूर्ति नियमित, गुणस्तरीय र अवरोधरहित बनाउन प्राधिकरणले विशेष तयारी गरेको छ । कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन तथा प्रादेशिक प्रमुखहरूको बैठकले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चुस्त राख्न आवश्यक निर्देशन दिएको छ ।
कुनै प्राविधिक समस्या आए तत्काल मर्मत गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ । साथै, ग्राहकहरूको गुनासो तत्काल सम्बोधन गर्न प्राधिकरणका ‘नो लाइट’ सेवालाई प्रभावकारी बनाउने र फोन नियमित उठाउने व्यवस्था मिलाइएको छ ।
यसैबीच, प्राधिकरणले लक्ष्मीपूजा तथा पर्वका समयमा सुरक्षित रूपमा बिजुली प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र कुनै खराबी देखिएमा दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ । समस्या परेमा नजिकको वितरण केन्द्र वा नो लाइट सेवामा सम्पर्क गर्न सकिनेछ ।
