काठमाडौं । विराटनगर किंंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १३३ रनमा समेटिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो।
पोखरालाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। आफ्नो टी–२० करियरको उत्कृष्ट बलिङ गरेका सन्दीपले जारी एनपीएलमा पहिलो ह्याट्रिक गरेका हुन्।
सन्दीपले १५औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए। १५औँ ओभरको तेस्रो बलमा युवराज शर्मा, चौथो बलमा चमिका करुणारत्ने र पाचौँ बलमा किरण ठगुन्नालाई पेभेलियनको बाटो देखाउँदै सन्दीपले ह्याट्रिक विकेट लिएका थिए। उनले आफ्नो स्पेलमा २७ रन खर्चेर ६ विकेट आफ्नो नाममा गरे।
त्यसअघि ११औँ ओभरको दोस्रो बलमा सन्नी विके र चौथो बलमा रमेश मेन्डिसलाई आउट गरेका थिए। सातौँ ओभरको दोस्रो बलमा अर्जुन घर्तीलाई आउट गराएका थिए।

सन्दीपले यसअघि कर्णाली याक्ससँग एक विकेट मात्र लिएका थिए। एगेंलो म्याथुस, रुपेश सिंह र चरिथ असंलकाले समान एक विकेट आफ्नो नाममा गरे।

पोखराका लागि ओपनर युवराज शर्माले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ४७ बलमा सात चौका र पाँच छक्का सहयोगमा ८४ रन बनाउँदा सन्दीपको बलमा उडानाको हातबाट क्याच आउट भए।

धनन्जय लक्षण २२ रनमा रनआउट भए। सन्नी विकेले १२ रन थपे। पोखराका अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।