काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको भीषण माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
काठमाडौंमा व्यवसाय तथा रोजगारीमा संलग्न परिवारका सदस्यहरू एउटै गाडी रिजर्भ गरी छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटना भएको रास्वपाले जनाएको छ। दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४, सुन्दरपुर टोलका धेरै परिवार प्रभावित भएका छन्। एउटै टोलका पाँच परिवारसम्मका सदस्य गुमाउनुपरेको घटनाले गाउँ तथा समुदायमा अपूरणीय क्षति पुगेको पार्टीको भनाइ छ।
रास्वपाले घाइतेहरूको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न र शोकसन्तप्त परिवारलाई तत्काल राहत तथा मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
पार्टीले सडक दुर्घटना कुनै एक परिवारको निजी पीडामा मात्र सीमित नभई राज्यको यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग जोडिएको गम्भीर विषय भएको उल्लेख गरेको छ।

यस्ता दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी र दीर्घकालीन कदम चाल्नुपर्नेमा जोड दिँदै रास्वपाले पीडित परिवारको अभिभावकत्व ग्रहण गरी राहत, सहयोग र सहजीकरणमा संवेदनशील तथा जिम्मेवार भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ।

रास्वपाले दुःखको यस घडीमा पीडित परिवार तथा सिंगो सुन्दरपुरवासीको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
