काठमाडौं । पर्सि आइतवारदेखि तीन वटा प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दो क्रममा रहेको र आइतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही ठाउँमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी रहेको धानबाली भए तत्कालै काटेर सुरक्षित गर्न मौसमविद्को सल्लाह छ ।
आज र भोलि एक/दुई ठाउँमा हल्का वर्षा भए पनि मौसममा ठूलो परिवर्तन हुने छैन । तर पर्सिदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउन सक्ने छ ।
आइतवार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली थोरै ठाउँमा पानी पर्ने अनुमान छ ।

त्यस्तै बागमती र कोशी प्रदेशका पहाडी एक/दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान महाशाखाको छ । केही ठाउँमा असिना, मेघगर्जन र चट्याङको सम्भावना छ ।

यसबाट विशेषगरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा क्षति हुन सक्ने भएकाले किसानलाई चनाखो रहन र पूर्वतयारीसहित भित्र्याउन मौसमविद्को सुझाव छ । ठूलो पानी पर्ने सम्भावना नरहेको तर मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ ।
