काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा बेल्जियमले इटालीलाई ४–१ गोलले पराजित गरेको छ ।
यस हारसँगै इटाली प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न असफल भएको छ भने बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरेको छ ।
बेल्जियमको ब्रसेल्सस्थित किङ बाउडोइन रङ्गशालामा भएको खेलमा इटालीले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । खेलको ११औँ मिनेटमा फ्रान्सेस्को पियो एस्पोसिटोले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर बेल्जियमले चार मिनेटपछि नै म्याक्सिम डे क्युपरको गोलबाट बराबरी गर्यो ।
खेलको २२औँ मिनेटमा नाथन न्गोयले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । त्यसको चार मिनेटपछि जेरेमी डोकुले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेपछि बेल्जियमले पहिलो हाफमै ३–१ को अग्रता बनायो ।
दोस्रो हाफमा पनि बेल्जियमले इटालीमाथि दबाब कायम राख्यो। खेलको ८०औँ मिनेटमा केभिन डी ब्रुइनको पासमा डिएगो मोरेरियाले गोल गर्दै बेल्जियमको जित ४–१ ले सुनिश्चित गरे । खेलको अन्तिम समयमा इटालीले पेनाल्टी पाएको थियो। तर पियो एस्पोसिटोको प्रहार बेल्जियमका गोलरक्षक सेने लामेन्सले बचाएपछि इटालीले गोलअन्तर घटाउने अवसर गुमायो ।

यस जितसँगै बेल्जियम १२ अंक जोड्दै समूह ‘ए१’ को दोस्रो स्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्स १३ अंकसहित समूह विजेता बनेको छ भने इटाली १० अंकसहित तेस्रो स्थानमा सीमित भएको छ ।

यस हारसँगै इटालीको नेसन्स लिगको क्वार्टरफाइनल यात्रा समाप्त भएको छ ।
