काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रूपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो।
असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ। यस शीर्षकमा सरकारले वार्षिक २ खर्ब ४७ अर्ब ३५ करोड ७ लाख रूपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ। लक्ष्यको तुलनामा ऋण प्राप्तिको प्रगति १३.८८ प्रतिशत रहेको छ।
त्यस्तै, अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ। सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ९४ करोड ५४ लाख रूपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म १२.९३ प्रतिशत प्रगति भएको छ।
ऋण र अनुदान गरी चालु आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २९ करोड ६१ लाख रूपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने वार्षिक लक्ष्य रहेको छ। असोज मसान्तसम्म कुल ४२ अर्ब ३२ करोड ५४ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ।
यसैबीच, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायतासम्बन्धी कुल ६ अर्ब ४७ करोड ११ लाख रूपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। महिनागत विवरणअनुसार साउनमा २ अर्ब २० करोड ३८ लाख रूपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ।

भदौमा १ अर्ब १३ करोड ७३ लाख रूपैयाँ र असोजमा ३ अर्ब १३ करोड रूपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। पहिलो त्रैमासमा प्राप्त भएको वैदेशिक सहायता प्रतिबद्धता कुल ६ अर्ब ४७ करोड ११ लाख रूपैयाँ पुगेको छ।

वैदेशिक सहायता परिचालनको विवरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण तथा अनुदान प्राप्ति वार्षिक लक्ष्यको तुलनामा १३ प्रतिशत हाराहारीमा सीमित रहेको छ।
