काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।
उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्ने उद्देश्यले दैनिक ५ देखि १० वटासम्म अनुगमन टोली परिचालन गरिएको विभागका महानिर्देशक रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।
विभागका अनुसार खाद्यान्न तथा किराना पसल, होटल तथा रेस्टुरेन्ट, ग्यास स्टोर, कपडा पसल, कस्मेटिक, अटो पाट्र्स, तरकारी तथा फलफूल पसललगायत क्षेत्रमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा वस्तुको मूल्य, गुणस्तर, बिक्रीवितरणको अवस्था, व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड र उपभोक्ता अधिकारको पालना भए–नभएको विषयमा निगरानी गरिएको विभागले जनाएको छ ।

यसैगरी, कैफियत देखिएका थप ७६ वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागका महानिर्देशक शाक्यले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा प्राप्त गर्ने वातावरण निर्माण गर्नु विभागको प्राथमिकता रहेको बताउनुभएको छ ।

उहाँले बजारमा ठगी, अनुचित व्यापारिक गतिविधि तथा उपभोक्ताको हितविपरीतका काम भएको पाइएमा विभागलाई जानकारी गराउन आग्रहसमेत गर्नुभएको छ ।
