काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ ।
राखेपले बिहीबार एन्फालाई पत्र पठाउँदै निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको जानकारी दिइएको छ । राखेपले आज गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन र प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ । प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी फुकुवा गरिएको हो ।
एन्फाले गत अप्रिल ५ (चैत २३)मा पत्रमार्फत निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ ।
निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालय तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)लाई समेत जानकारी गराइएको छ ।