सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग गरेको छ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले आज उक्त रकम बराबरको चेक अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ मन्त्रालयका सहसचिवहरू लगायतको उपस्थिति थियो।
केन्द्रले उक्त सहयोग आफ्नै आम्दानीबाट जुटाएको जनाएको छ। बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको केन्द्रले जनाएको छ।
केन्द्रले पछिल्लो एक वर्षमा संस्थागत तथा आर्थिक सुधार गर्दै सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइलगायतका काममार्फत आफ्नो क्षमता विस्तार गरेको जनाएको छ।

केन्द्रका अनुसार लामो समयदेखि बाँकी रहेको सवारी चालक अनुमतिपत्रको २७ लाख थान छपाइ छ महिनाभित्र सम्पन्न गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ।
