एड्स हेल्थ केयर फाउन्डेसन (एचएचएफ) नेपालले विश्व एड्स दिवसको अवसरमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा गरेको छ ।
एचएचएफ नेपालले मंगलबार काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा पत्रकार सम्मेलन गरी आगामी डिसेम्बर १, २०२६ मा ‘विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६’ आयोजना गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा एचएचएफका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा एचएचएफका प्रतिनिधिहरूले आगामी सांगीतिक कन्सर्टको उद्देश्य र महत्वबारे जानकारी गराएका थिए । कार्यक्रमको व्यवस्थापन तथा सञ्चार समन्वयको काम मार्स एड्भर्टाइजिङ एन्ड रिसर्च प्रालिले गरेको थियो ।
आगामी डिसेम्बर १ मा आयोजना हुने उक्त कन्सर्टले संगीत र मनोरञ्जनमार्फत एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । सांगीतिक प्रस्तुतिसँगै कार्यक्रमले समयमै एचआईभी परीक्षण गर्न प्रोत्साहित गर्ने, उपचारको महत्वबारे जनचेतना फैलाउने र एचआईभी संक्रमित व्यक्तिहरूका लागि सहयोगी वातावरण निर्माण गर्न जोड दिनेछ ।
कन्सर्टमा सहभागी हुन इच्छुकले खल्ती एपमार्फत निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । यसले सहभागीहरूलाई सहज रूपमा दर्ता प्रक्रिया पूरा गरी संगीत, जनचेतना र ऐक्यबद्धताको उक्त कार्यक्रममा सहभागी हुन मद्दत पुग्ने आयोजकले जनाएको छ ।

त्यसैगरी, यस अभियानले एचआईभी/एड्ससँग जोडिएका सामाजिक लाञ्छना र भेदभावविरुद्ध एकजुट हुनुपर्ने आवश्यकतामा समेत जोड दिएको छ । संगीत, जनसहभागिता र चेतनामूलक गतिविधिमार्फत खुला संवादलाई प्रोत्साहन गर्ने, गलत धारणाहरूलाई चिर्ने तथा थप सुसूचित र समावेशी समाज निर्माणका लागि सामूहिक जिम्मेवारीको भावना जगाउने एचएचएफ नेपालको लक्ष्य छ ।

कन्सर्टले कलाकार, दर्शक र आम समुदायलाई एउटै स्थानमा जोड्नेछ । मनोरञ्जन, जनचेतना र पैरवीको संयोजनमार्फत विश्व एड्स दिवस मनाइने आयोजकले जनाएको छ ।
