काठमाडौं । साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । आक्रमणमा घाइते भएका अन्य तीन नेपाली नागरिकको अवस्थाप्रति पनि सरकारले चिन्ता व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने दुई जनाको अहिले पनि उपचार भइरहेको छ ।
मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नेपालले कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने स्पष्ट पारेको छ । विवाद र द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न तथा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन नेपालले आग्रह गरेको छ ।

