काठमाडौं, असोज ९ – स्याङ्जामा दुनियाँकै आँशु आउने दृष्य देखिएको छ । पहिरोबाट मृत्यु भएका ९ जनाको सामूहिक दाहसंस्कार गर्दाको त्यो दृष्यले सबैलाई भावुक बनायो । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।
नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए ।
“पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको लाशलाई गह्रौं प्राथमिक अस्पताल वालिङमा परीक्षण गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरेका छौँ”, अध्यक्ष रनपालले भने । एकै परिवारका नौ जनाको एकैपटक दाहसंस्कार गरिएको यो हृदयविदारक घटना नौलो भएको अध्यक्ष रनपालले बताए ।
दाहसंस्कारका लागि घाटमा पुगेका मलामी तथा आफन्तजन निक्कै भावविह्वल भएका थिए । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
FACEBOOK COMMENTS