काठमाडौं, असोज १२ – उपत्यकामा प्रशासनले निषेधाज्ञा अन्त्य भएको घोषणा गरे पनि जोरविजोर प्रणाली जारी छ । यस्तो अवस्थामा एकजना व्यवसायीले सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर दुवै दिन गाडी कुदाउने गरेको भेटिएको छ ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीले विशेष सूचनाका आधारमा यो कार्यमा संलग्न सुरेन्द्रकुमार अग्रवाललाई पक्राउ गरेको छ । उनी बैशाली प्रोडक्सन र खोली इम्पोरियमसँग आबद्ध छन् ।
कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनले बा ११ च ६६५० र बा ७ च ४४५४ नम्बरको दुई वटा गाडीमा क्रमशः बा ११ च ६५५७ र बा ७ च ४४५५ नम्बरको नक्कली प्लेट लगाएर कुदाउने गरेका थिए ।
‘गते अनुसार प्लेट परिवर्तन गर्दै गाडी कुदाउने गरेको पाइएपछि नियन्त्रणमा लिएका हौं’, बोहोराले भने, ‘दुवै गाडी वर्ल्ड ट्रेड सेन्टर र चाइना टाउनको पार्किङ क्षेत्रबाट बरामद भएको हो ।’ पक्राउ परेका अग्रवाललाई यातायात व्यवस्था ऐनअनुसार कारबाही हुने भनिएको छ ।
FACEBOOK COMMENTS