काठमाडौं, असोज २१ – शिक्षकलाई कोरोना भाइरस संक्रमण भएपछि मकवानपुरको वाग्मती गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर विद्यालयको पठनपाठन बन्द गराएको हो । संक्रमितमध्ये एक जना शिक्षक रहेका गाउँपालिकास्थित जनता माविका प्रधानाध्यापक वसन्त राईले बताए ।
कोरोना संक्रमित शून्य रहेको र संघीय सरकारले असोज १ देखि वैकल्पिक विधिबाट पठनपाठन गराउन दिएको निर्देशनबमोजिम गाउँपालिकाका विद्यालयमा पढाइ भइरहेको थियो ।
विद्यालयहरूले स्वास्थ्य सतर्कता अपनाएर जोर–बिजोर प्रणालीमार्फत पठनपाठन थालेका थिए ।
दसैंअघिसम्म विद्यालय बन्द गर्ने र वैकल्पिक विधिबाट पठनपाठन गर्ने गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए । गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई भने विद्यालयमा नियमित उपस्थित भई आन्तरिक कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS