काठमाडौं, १७ कार्तिक – स्वास्थ्य मन्त्रालयको निर्देशनपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शुल्क तिर्न नसक्ने कोरोना संक्रमितसँग भर्ना हुनुअघि धरौटी रकम नलिएको जनाएको छ ।
अस्पतालले सोमबार एक विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न नसक्ने बिरामीहरुले भर्ना हुँदा धरौटी रकम बुझाउनु नपर्ने प्रावधान कार्यन्वयन गर्ने जनाएको हो ।
अस्पतालले सोमबार देखि नै सबै वार्ड र काउण्टरलाई पत्राचार गरि धरौटी रकम नलिन निर्देशन दिइएको अस्पतालका निर्देशक डाक्टर सागर कुमार राजभण्डारीले विज्ञप्ति माफर्त जानकारी दिएका छन् । अस्पतालले धरौटी अभावमा हालसम्म बिरामीलाई उपचार सेवा पाउनबाट बञ्चित नगराइएको पनि स्पष्ट पारेको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको निशुल्क उपचार गर्ने पनि अस्पतालले जनाएको छ । शुक्रराज अस्पतालमा भर्ना हुने विपन्न, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति अपाङ्गता, अशक्त एकल महिला, असाहाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सरसफाई कर्मचारीको भने निशुल्क उपचार हुने जनाइएको छ ।
यस्तै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितलाई खाना, औषधी तथा ल्याव र अन्य उपलब्ध परीक्षणहरु निशुल्क गरिने व्यवस्था कायमै रहेको पनि जनाएको छ ।
FACEBOOK COMMENTS