रामेछाप — अलैंची किसान माल अनुसारको दाम नपाउँदा दुखी भएका छन् ।
बाहिरका व्यवसायीलाई अलैंची उत्पादक किसानकामा आउन नदिने खेलको मारमा आफू परेको उत्तरी रामेछापका किसानको दाबी छ ।
यस वर्ष कुनै व्यवसायी पनि अलैंची उत्पादन क्षेत्रमा आइनपुगेकाले भाउ नचलेको उनीहरू बताउँछन् ।
अलैंचीको प्रमुख बजार भारत हो । भारतीय व्यवसायीसँग स्थानीय ठेकेदारले किसानको उत्पादन हेरेर मोल मिलाउने चलन छ । बजारमा महँगोमा बिक्री हुने भए पनि बिचौलियाका कारण यसअघि पनि राम्रो भाउ किसानले पाएका छैनन् । गत वर्ष प्रतिकेजी ६ सयदेखि ६ सय ५० रुपैयाँमा किसानले चित्त बुझाउनुपरेको थियो ।
अलैंची उत्पादक किसान दिनेश कार्की यो वर्ष भुटान, बंगालादेश र चीनतर्फ पनि अलैंची जाने हल्ला गाउँसम्म आइपुगेको सुनाउँछन् । भाउ धेरै आए त्यसतर्फ जाने भइहाल्यो भने पनि बिचौलियाको हस्तक्षेपबाट मुक्त हुन सकिँदैन भन्ने उनलाई लागेको छ ।
भारत अलैंचीजन्य मसलाको मुख्य बजार भएकाले सरकारीस्तरबाटै मूल्य निर्धारणको पहल हुनुपर्ने कार्कीको भनाइ छ ।
–कान्तिपुर
FACEBOOK COMMENTS