काठमाडौं, मंसिर २५ – कास्की जिल्लामा हाल झण्डै ४ हजार जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये करीब ७२ प्रतिशत संक्रमित कास्कीमै छन् ।कोरोना संक्रमण दर कायमै छ, घटेको छैन । प्रदेशमा १२ हजार ९७६ संक्रमितमध्ये सक्रिय संक्रमित ५ हजार २३९ जना छन् ।
गत २४ घण्टामा पनि कास्कीमा ६९ जना संक्रमित थपिए । पछिल्लो तथ्यांक हेर्दा जिल्लामा कूल ५ हजार ७१७ जना संक्रमित पुगेकोमा सक्रिय संक्रमित ३ हजार ७३७ छन् । निको हुने १ हजार ८८३ जना छन् । कोरोना संक्रमणको जोखिमबीच कास्कीमा विद्यालय सञ्चालनको तयारी थालिएको छ । कोरोना भाइरस महामारीका कारण गत चैतदेखि कास्कीका विद्यालय पनि बन्द भएका हुन् ।
पोखरा महानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी ढाँचा तयार गरेपछि सरकारी तथा निजी विद्यालयहरू खुलाउने तयारी भएको छ । महानगर शिक्षा महाशाखाले तोकेको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न थालेको महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।
महाशाखाबाट जारी स्वास्थ्य सम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ मा उल्लेखित मापदण्डसहित पछिल्लो मोडालिटीअनुरूप प्रत्येक विद्यालयले अनिवार्यरूपमा विद्यालय सञ्चालन कार्ययोजना बनाइ महाशाखामा पेश गर्ने शर्तमा विद्यालय नियमित रूपमा सञ्चालन गर्न भनिएको छ । महानगरमा केही दिनअघि सर्वदलीय बैठक समेत बसेको थियो । पढाइ सञ्चालनसम्बन्धी कार्ययोजना पुस १ गतेभित्रै पेश गर्न भनिएको आचार्यले बताए ।
FACEBOOK COMMENTS