काठमाडौं, मंसिर २५ – काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा सडकबत्ती जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ ।
सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो ।
सहमतिपत्रमा काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्य-मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ ।
त्यसैगरी चालु आवमा नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीको लागी आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ ।
लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्नेछ । आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले भनिएको छ । सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने सहमति छ ।
सडक वत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडक वत्तीहरुको संम्भाव्य विस्तार स्थलहरुको पहिचान, अध्ययन गरी ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने, नयाँ सडक वत्तीहरुको जडान पश्चात जगेडा हुने सोलार प्यानल लगायत सामानहरुको जगेर्ना गर्दै पुर्नप्रयोगको व्यवस्था गर्र्ने लगायतका कुरा पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS