काठमाडौं, पुस ७ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले अदृष्य शक्तिले पार्टी फुटाउन खोजेको बताएका छन्। नेकपा दाङले आयोजना गरेको संस्थापक नेता माणिकलाल गौतमको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महराले त्यही भएर पार्टीमा संकट देखापरेको तर्क गरे।
औपचारिक रूपमा पार्टी विभाजन नभएको भए पनि पार्टीमा ठूलो संकट देखा परेको र त्यसको पछाडि पार्टी नेतृत्वको मात्र कमजोरी नभएर अदृश्य शक्तिको पनि ठूलो भूमिका रहेको महराले बताए। ‘त्यो अदृश्य शक्तिले नेपालमा स्थिर भएको देख्न चाहँदैन। त्यो भएर यो अवस्था आएको छ’, महराले भने, ‘अझै पनि पार्टी एकताको सम्भावना छ र त्यो दिशामा सबै लाग्नुको विकल्प छैन।’
नेता महराले पार्टी एकताको लागि दुवै पक्षका नेताहरूसँग आफूले छलफल गरिराखेको समेत बताए। ‘पार्टी अध्यक्ष प्रचण्ड र अर्को पक्षका नेताहरूसँग मेरो कुरा भइराखेको छ’, महराले भने,‘मलाई आइतबार नै काठमाडौं आउन भनिएको थियो र म आज काठमाडौं जाँदै छु। सकभर म पार्टी एकता जोगाउन प्रयास गर्नेछु। पार्टी एकताका आधार अझै समाप्त भएका छैनन्।’
FACEBOOK COMMENTS