काठमाण्डौँ — अर्थ मन्त्रालयले गैरबजेटरी रकम माग गर्ने मन्त्रालयहरुलाई पत्राचार गरी त्यस्तो माग नपठाउन निर्देशन दिएको छ।
चालु बजेटबाट पुँजीगत खर्च गर्न नसकेका विभिन्न मन्त्रालयले आर्थिक वर्षको सुरुवातमै अर्बौं रुपैयाँ गैरबजेटरी रकम माग गरेपछि अर्थले कडाइ गर्न थालेको हो।
यसअघि संघीय संसद्को अर्थ समितिले बजेट बाहिरबाट गरिने खर्च वित्तीय अनुशासनविपरीत हुने भन्दै नियन्त्रण गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो।
समितिको निर्देशनबमोजिम गैरबजेटरी रकमको माग नपठाउन सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले जानकारी दिए।
अर्थ मन्त्रालयले हालसम्म भुक्तानी गर्न बाँकी पुरानो रकम र आयोजनाको विवरणसमेत पठाउन ती मन्त्रालयलाई निर्देशन दिएको छ।
अर्थले कात्तिक मसान्तसम्म विभिन्न मन्त्रालयबाट ४४ अर्ब ७५ करोड रुपैयाँ गैरबजेटरी रकम माग भएको तथ्यांक गत मंसिर ३ गते संसदको अर्थ समितिमा प्रस्तुत गरेको थियो।
— नागरीक
FACEBOOK COMMENTS