काठमाडौं, २ फागुन- नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार देशभरि हुने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेको छ ।आइतबार एक विज्ञप्ति निकाल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरेका हुन् ।
पार्टीको सबै तहका नेता कार्यकर्ताका साथै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एकजुट हुन सभापति देउवाले अपील गरेका हुन् । विज्ञप्तिमा संविधानमा भएको व्यवस्था प्रतिकुल तथा जनभावनाविपरीत संसद विघटन गरिएको विरोधमा कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको पनि उल्लेख गरिएको छ ।
कांग्रेसले संसद विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गर्दै पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा विरोध प्रदर्शन गरेको थियो ।
FACEBOOK COMMENTS