काठमाडौं, फागुन ३ –सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा राजनीतिक रुपमा विभाजित भएको छ ।पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष र ओली पक्षमा विभाजित बनेको नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा रहेको छ ।
दुबै समूहले आफ्नो पक्षलाई आधिकारिक भएको दाबी गरिरहेका छन् र सूर्य चुनाव चिह्न आफ्नो पक्षले पाउने दाबी गरिरहेको छ तर आयोगले यसबारे कुनै निर्णय गरेको छैन ।
नेकपाको चुनाव चिह्नका कारण निर्वाचन नै प्रभावित बन्ने अवस्था आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवाद समाधानको उपाय सुझाएका छन् ।
सूर्य एउटै भएकोले दुई समूहमा विभाजित नेकपालाई दिन नसकिने भएकाले सूर्यबाहेक अरू चिन्ह आयोगले दिएर विवाद समाधान गर्न सक्ने देउवाको भनाइ छ ।भैरहवामा आयोजित सभामा बोल्दै देउवाले भने, ‘नेकपाभित्र चुनाव चिन्हमा झगडा छ । निर्वाचन आयोगले किन चुनाव चिन्ह दिइरहेको छैन? ओलीले पाउने भए ओलीलाई नभए प्रचण्डलाई सूर्य चिन्ह दिए भइहाल्यो।’
यी दुई समूहमध्ये कसैले पनि सूर्य चिन्ह नपाउने भए आयोगले समयमै यसबारे छिनोफानो गरिदिनुपर्ने देउवाको भनाइ छ ।कसलाई सूर्य चिन्ह दिने भन्ने निर्णय अहिलेसम्म गर्न नसक्ने?,’ निर्वाचन आयोगप्रति प्रश्न गर्दै देउवाले भने, ‘सबैभन्दा बेस त चुनाव चिन्ह अरू नै दिए भइहाल्यो। सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिन्ह कसरी दिने?’सूर्य चिन्ह एउटा र नेकपाभित्र दुइटा समूह भएकोले सूर्य चिन्ह बाँड्न नमिल्ने देउवाले बताए ।
FACEBOOK COMMENTS