काठमाण्डौँ — म्याग्दीको मालिका गाउँपालिकामा बहुप्रतीक्षित दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ।
धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको आयोजना निर्माण सुरु गरेको हो।
हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिका लगायतका देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयबासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको धौलागिरि कालिका हाइड्रो लिमिटेडका अध्यक्ष बिनोद कुँवरले बताए।
तीन वर्षभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यसहित केही पावरहाउस, सुरुङ र बाँध लगायत पूर्वाधार निर्माणको कामलाई तिब्रता दिइने आयोजनाका प्रबन्ध निर्देशक इन्जिनियर हर्कमान घर्तीमगरले बताए।
५ अर्ब १५ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने भएको छ।

प्रभावित क्षेत्रका लगानीकर्ता र प्रवद्र्धकहरुबीचको विवादका कारण २०७१ फागुनमा विद्युत विकास विभागबाट जनेरेसन लाइसेन्स पाएको आयोजनाको काम सुरु हुन सकेको थिएन।

विवाद व्यवस्थापन गरेर आयोजना निर्माण सुरु गरेको र निर्धारित समयमै सम्पन्न गरेर लगानीकर्तालाई नाफा दिने लगानीकर्ता चित्र पुनले बताए।

— अन्नपुर्ण