काठमाडौं – चक्रपथमा मोनोरेल निर्माणका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले डिपिआर तयार पार्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवे २५औं व्युरो ग्रुप कम्पनी लिमिटेड ओभरसिस विजेनस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङबिङबीच द्धिपक्षीय सम्झौता भएको हो।
डिपिआर निर्माण भएपछि निर्माण कार्य अघि बढाउने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।मोनोरेल निर्माण, सञ्चालन र हस्तान्तरण बुट प्रणाली अन्तर्गत तयार हुने बताइएको छ ।
चक्रपथमा निर्माण गर्न लागिएको मोनोरेलको फिजिविलिट स्टडी पनि सोही चिनियाँ कम्पनीले ३ महिनाअघि अध्ययन सकेर गत भदौमा रिपोर्ट बुझाइसकेको छ।
त्यही फिजिविलिटी रिपोर्टलाई आधार मानेर डिपिआरको जिम्मा पनि उक्त चिनियाँ कम्पनीलाई दिइएको छ। सम्झौता अनुसार चिनियाँ कम्पनीले ६ महिना अध्ययन गरेर डिपिआरको ड्राफ्ट बुझाउने छ। एक बर्षमा भित्रमा फाइनल डिपिआर तयार पारेर काठमाडौं महानगरपालिकालाई बुझाउने छ। चीन सरकारको स्वामित्व रहेको कम्पनीले डिपिआरका लागि लाग्ने सम्पुर्ण लागत आफैले व्यहोर्ने छ।
महानगरपालिकामा मेयर शाक्यका अनुसार, तीन बर्षमा काठमाडौंको चक्रपथमा मनोरेल गुड्ने छ ।
सम्झौता अनुसार डिपिआरमा माटो परिक्षणसहित वातावरणीय प्रभाव मुल्याङकन , मोनोरेलको डिजाइन, प्राविधिक एवम निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना संचालनको चरण र लाभ समेत विश्लेषण हुनेछ।
साढे २७ किलोमिटरको चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा १० किलोमिटर पर्दछ। चक्रपथमा अहिलेको अवस्थालाई आंकलन गरि ३ चरणमा निर्माणको काम गर्दा उपयुक्त हुने सम्भाव्यता अध्ययनले देखाएको छ।
सम्भाव्यता अध्ययनले देखाएको लागत करिव १ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ।
FACEBOOK COMMENTS