काठमाडौं, चैत १७ – सरकारले शनिबारसम्म विद्यालय बन्दको आह्वान गरे पनि वीरगञ्जका शैक्षिक संस्था बन्द नहुने भएका छन् । देशका अन्य क्षेत्रमा जस्तो वीरगञ्जमा वायु प्रदूषणको असर नदेखिएकोले विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था नरहेको वीरगञ्ज महानगरपालिकाका दाबी छ ।
प्रदेश २ मा मंगलबार (आज) सम्म प्रदेश सरकारले होली पर्वको बिदा दिएको छ । बुधबारदेखि नियमित विद्यालय सञ्चालन गर्न महानगरपालिकाले मातहातका सबै सामुदायिक र निजी विद्यालयलाई अनुरोध गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए ।
देशका अन्य स्थानमा जस्तो वीरगञ्जमा वायु प्रदूषणको प्रतिकुल असर नदेखिएकोले विद्यालय बन्द नगर्ने निष्कर्षमा आफूहरु पुगेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । उनका अनुसार काठमाडौंलगायत देशका अन्य स्थानमा जस्तो वीरगञ्जमा वायु प्रदूषणले घर बाहिरै निस्कनै नहुने अवस्था वीरगञ्जमा छैन ।
‘कोरोना महामारीमा लामो समय विद्यालय बन्द भयो, त्यसपछि पनि विभिन्न चाडपर्वको नाममा पटक-पटक दिएका छौं, बिदाले गर्दा बालबालिकाको पढाइ धेरै छुटेको छ । वायु प्रदूषणको प्रभाव वीरगञ्जमा खासै परेको छैन,’ नगरप्रमुख सरावगीले भने, ‘छु्ट्टीको समयको पढाइलाई पूर्ति गर्न पढ्नुपर्ने कुरा धेरै छ तर समय कम छ । त्यसैले विद्यालय बन्द नगर्ने निर्णय गरेका छौं ।’
FACEBOOK COMMENTS