राजविराज – यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र का वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिए।
जिल्लामा रहेको कूल ७० हजार हेक्टर खेतीयोग्य जमीनमध्ये यस वर्ष ६३ हजार हेक्टरमा धान बाली लगाइएको बताउँदै प्रतिहेक्टर २ दशमलव ८५ मेट्रिकटनका दरले कूल एक लाख ६९ हजार ५५० मेट्रिकटन धान उत्पादन भएको उनले बताए ।
गत वर्ष प्रतिहेक्टर सरदर दुई दशमलव ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । आव २०७३÷०७४ मा उत्पादन दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर थियो भने आर्थिक वर्ष ०७० ÷०७१ र ०७१÷७२ मा जिल्लामा औसत तीन दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष सात प्रतिशत धान उत्पादन भएको उक्त कार्यालयले जनाएको छ । रोपाइको समयमा तुलनात्मकरुपमा वर्षाले साथ दिएकाले गत वर्षभन्दा आठ हजार ५०० हेक्टर बढी जमीनमा धान रोपाइँ भएकाले पनि धान उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत यादवले जानकारी दिए ।
गत वर्ष रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा सात हजार हेक्टर जमनि बाँझै रह्यो । गत वर्षको बाढीले रोपाइँ भएको धानबालीसमेत पुरेपछि कतिपय किसानले यसपाली पनि धानबाली लगाउन सकेका थिएनन् ।
करीब आठ हजार ५०० हेक्टर धानबाली त्यति बेला बाढीले बगाएको थियो र बाँकी रहेको बालीबाट किसानले कूल एक लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको उक्त कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सिँचाइ अभावमा हरेक वर्ष १० देखि ४० हजार हेक्टर खेतीयोग्य जमीन सप्तरी जिल्लामा बाँझो रहने गरेको पाइएको छ ।
FACEBOOK COMMENTS