काठमाडौं, वैशाख १९ – सन् ९० को दशकमा अभिनेता ऋषि कपूरदेखि लिएर शत्रुघ्न सिन्हाजस्ता ठूला स्टारका साथ अभिनय गरेकी अभिनेत्री गीता बहलको शनिबार राती कोरोना संक्रमणका कारण निधन भएको छ ।कोरोना पोजेटिभ देखिएपछि गीतालाई १९ अप्रिलमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनी ६४ वर्षकी थिइन् ।
एबीपी लाइभमा प्रकाशित समाचारअनुसार गीता सन् ८० देखि ९० को दशकमा कैयौं फिल्ममा अभिनेताका रुपमा काम गरेका अभिनेता रवि बहलकी बहिनी हुन् ।गीतासँगै उनका दाजु रवि, उनकी ८५ वर्षकी आमा र घरमा काम गर्ने एक महिला कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । तर घरमा आइसोलेसनमा रहेका तीनजना अहिले स्वस्थ भइसकेका छन् ।
तर गीताको स्वास्थ्य अवस्थामा खराब हुँदै गएपछि उनलाई अप्रिल २६ मा आइसीयूमा सारिएको थियो । उनलाई दुई दिन अघि भेण्टीलेटरमा राखिएको थियो ।गीताले सन् १९७८ मा निर्देशक राज खोसलाको हिट फिल्म ‘मे तुलसी तेरे आँगन की’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यो फिल्ममा विनोद खन्ना, नूतन र आशा पारेख जस्ता दिग्गज कलाकारको अभिनय थियो ।उनले ९० को दशकमा ऋषि कपूर र मौसमी चटर्जीका साथ फिल्म ‘दो प्रेमी’, ‘जमानेको दिखाना है’, ‘मैने जीना सिख लिया’, ‘मेरा दोस्त मेरा दुश्मन’, ‘नयाँ सफर’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन् ।
FACEBOOK COMMENTS