काठमाडौं, वैशाख २३ – होन्डाले आफ्नो चर्चित मोटरसाइकल सिबी १५० आर मलेसिया र इन्डोनेशियाबाट विक्री सुरु गरेको छ । दुई एसियाली देशमा एक साथ विक्री सुरु भएको होन्डाको सिबी १५० आर नेपाल आउन सक्ने मोडल हो ।होन्डा अन्तर्राष्ट्रिय बजारमा बलियो पकड बनाउन लागि परेको छ । भारतमा पनि कम्पनीले एकपछि अर्को नयाँ मोडल उत्पादन सुरु गरेको छ । यस्तोमा कम्पनीले सिबी १५० आर पनि भारतमा बनाउन सक्ने रिपोर्टहरु बाहिर आएका छन् ।
नेपालको लागि होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले भने इन्डोनेशियामा विक्री भइरहेको मोडल नै पनि नेपाल ल्याएर विक्री गर्न सक्ने छ । तर, स्याकार ट्रेडिङ स्रोतले यो मोटरसाइकल नेपाल ल्याउने वा नल्याउने विषयमा कुनै आधिकारीक जानकारी दिएको छैन ।यदि सिबी १५० आर नेपाल आउने हो भने यसको सिधा प्रतिस्पर्धा यामाहाको एमटी १५ सँग हुने देखिन्छ ।
यसअघि विक्री हुँदै आएको रेगुलर मोडलको तुलनामा २०२१ मोडल थप आकर्षक रहेको छ । यसको बडी प्यानलमा परिवर्तन पाउन सकिन्छ । पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, सबै एलइडी लाइट, नयाँ ह्याण्डलबार जस्ता निकै उत्कृष्ट परिवर्तन नयाँ मोडलमा भएको छ ।
होन्डाले सिबी १५० आरमा १४९ सीसी, डिओएचसी लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १६.३ बीएच पावर र ७००० आरपीएममा १३.७ एनएम टर्क प्रदान गर्छ । ६ स्पीडको गियरबक्स उपलब्ध यस मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ ।
मोटरसाइकलको अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक, डायमण्ड टाइप फ्रेम र एबीएस यसमा पाउन सकिन्छ । यसको अगाडि र पछाडि नै समान १७ इन्चको अलोय ह्वील लिइएको छ ।
FACEBOOK COMMENTS