काठमाडौं, वैशाख २४ – मिस युनिभर्स नेपाल–२०२० की विजेता अंशिका शर्मा मिस युनिभर्सको ६९ औं संस्करणमा प्रतिस्पर्धा गर्न अमेरिका पुगेकी छिन् ।यही मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अंशिका अमेरिका पुगेकी हुन् ।उनीसंगै मिस युनिभर्स नेपाल कार्यक्रमकी नेपाल निर्देशक नगमा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् ।विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ जना प्रतिस्पर्धिले पहिलो बन्नको लागि मिस युनिभर्समा प्रतिस्पर्धा गर्नेछन् ।त्यसबाट क्रमशस् उत्कृष्ट १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।
विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा भित्राएकी नगमाले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन् ।नगमाले अंशिकाको सहभागिता सम्बन्धि बढी जानकारी सामाजिक सञ्जालबाट गराउने बताएकी छिन् ।अंशिका पनि देशलाई प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छिन् ।उनले आफूसंगै आफ्नो टिमले सक्दो तयारी गरेको जनाइन् ।अशिकाले प्रतियोगिताको पूर्व तयारीसंगै अद्भुत राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारका माध्यममार्फत सार्वजनिक गर्ने बताइन् ।उक्त प्रतियोगितामा सहभागिता जनाई सकेकी नगमाको अनुभवले पनि उनलाई तयारीमा सहयोग गरेको छ ।अंशिकाले यो प्रतियोगिताका लागि विगत ४ महिनादेखि प्रशिक्ष्ण लिएको बताएकी छिन् ।
‘देशलाई नै प्रतिनिधित्व गरिरहेकोले केही नर्भस नहुने कुरा त भएन, साथै पाएको अवसरले उत्साहित पनि बनाएको छ, शर्माले भनेकी छिन्–‘म मिस युनिभर्सको स्टेजमा उभिँदा कसरि राम्रो हुन्छ ? भनेर मेरो टिम पनि विगत ४ महिना यता सघाइरहनु भएको छ । यस अन्तर्गत मैले यस प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पूर्ण प्रशिक्षणहरु लिएकी छु । साथै , यसपटक अद्भुत राष्ट्रिय पोशाक अन्तर्गत नेपालको सर्वोच्च शिखर सगरमाथा झल्किने प्रस्तुति दिने तयारीमा छु । यसपटक टप २१ मा छानिन् भोट आवश्यक पर्छ र त्यो गरिरहनु भएको छ थाहा छ । साथै, जति धेरै भोट हुन्छ, त्यति नै हाम्रो स्थान त्यहाँ सुरक्षित हुन्छ । सकेसम्म नेपालको गौरव बढाउने काम गर्नेछु ।’
FACEBOOK COMMENTS