काठमाडौं, जेठ ११ – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ प्रभावित आफ्ना सदस्यहरूलाई राहत वितरण गरेको छ । कोभिडको दोस्रो लहर नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण आजआर्जन गर्न नसकेका सदस्यहरूलाई संस्थाले खाद्यान्नलगायत राहत सामग्री वितरण गरेको हो ।
आफ्ना सदस्यहरूले गर्दै आएका पेशा व्यवसायहरू प्रभावित हुँदा आयआर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरूका परिवारलाई संस्थाको १४० वटा शाखा कार्यालयबाट खाद्य सामग्री राहतस्वरूप उपलब्ध गराउने क्रम जारी राखेको कम्पनीले बताएको छ । वित्तीय संस्थाका सबै शाखा तथा उपशाखा कार्यालयले न्यून आय भएका र हालको विषम परिस्थितिमा अप्ठ्यारोमा परेका सदस्यहरूलाई उनीहरूको घरदैलोमै पुगेर राहत उपलब्ध गराइरहेको छ ।
संस्थाद्वारा वितरित खाद्य सामग्रीहरूमा चामल, दाल, नुन र तेल छन् । यसका अतिरिक्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध ग्राहक सदस्यहरूलाई कोभिड–१९ पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको जनाएको छ ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ वटा जिल्लामा रहेका १४० वटा शाखा कार्यालयका साथै ९ वटा इलाका कार्यालयमार्फत २ लाख ५१ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैरवित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।
वित्तीय संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ५७ लाख २८ हजार १२१ रूपैयाँ सहयोग उपलब्ध गराएको थियो । यसैगरी, सातवटै प्रदेशमा रहेका शाखा तथा उपशाखा कार्यालयमार्फत १५० वटा स्थानीय निकायलाई १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
FACEBOOK COMMENTS