काठमाडौं, जेठ १९ – नियमित अन्तर्राष्ट्रिय उडान मंगलबारदेखि खुलेसँगै नागरिक उड्डयन प्राधिकरणले भारतसहित तीनवटा गन्तव्यमा उडानका लागि समयतालिका सार्वजनिक गरेको छ।
गत साता सरकारले टर्की, चीन र कतारतर्फ नियमित उडान पुनः सुरु गर्ने निर्णय गरेसँगै प्राधिकरणले सम्बन्धित गन्तव्यका लागि समय तालिका बनाएको हो। तालिका अनुसार टर्किस एयरलाइन्स, नेपाल वायुसेवा निगम, कतार एयरवेज र एयर इण्डियाले नियमित उडान गर्ने छन्। यस अघि नेवानि र एयर इण्डियाले एयर बबल सम्झौताअनुसार दिल्ली-काठमाडौं नियमित उडान गर्दै आएका छन् भने टर्किस र कतार एयरवेजले पुनः नियमित उडान सुरु गर्न लागेका हुन्।
सरकारले चीनका लागि पनि दुईतर्फी उडान खोल्ने निर्णय गरे पनि उडान तालिका भने तयार भएको छैन। दुईतर्फी उडानका लागि मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चीन सरकारलाई प्रस्ताव गरिसकेको जनाएको छ। कुन कुन वायुसेवालाई अनुमति दिने भन्ने टुंगो हुन बाँकी रहेकाले तालिका नबनेको हो।
नेपाल-चीन उडानका लागि नेपालबाट हिमालय एयरलाइन्स र चीनका तर्फबाट एउटा वायुसेवा कम्पनीले साताको एउटा उडान गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ।
यात्रु सहजतालाई मध्यनजर गर्दै सरकारले चीन, टर्की, कतार लगायतका गन्तव्यमा नियमित उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार प्रत्येक मुलुकको एक वायुसेवा कम्पनीलाई साताको एउटा उडान सञ्चालनका लागि अनुमति दिइएको हो।
यस्तो छ उडानको समय तालिका
वायुसेवा कम्पनी | गन्तव्य | दिन | अवतरण समय | उडान समय |
टर्किस एयरलाइन्स | इस्तानबुल-काठमाडौं-इस्तानबुल | बिहीबार | ११:१५ | २३:०५ |
नेवानि | काठमाडौं-दोहा-काठमाडौं | सोमबार | ९:१० | २२:०० |
कतार एयरवेज | दोहा-काठमाडौं-दोहा | सोमबार | ९:१० | ११:०५ |
नेवानि | काठमाडौं-दिल्ली-काठमाडौं | बुधबार | १४:४५ | ११:०५ |
एयर इन्डिया | दिल्ली-काठमाडौं-दिल्ली | शुक्रबार | १४:३५ | १५:३५ |
FACEBOOK COMMENTS