काठमाडौं, जेठ २० – सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ २१ गते आव्हान गरिएको छ ।प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बजेट अधिवेशन आव्हानका लागि निर्णय गरी प्रदेश प्रमुखलाई सिफारिस गरिएको बताइन् ।
सुदूरपश्चिम प्रदेश सभा नियमावलीमा बजेट प्रस्तुत हुनु भन्दा १५ दिन पहिले नै प्रिबजेट प्रस्तुत भएर छलफल प्रारम्भ गर्नुपर्ने र एक सातापहिले नीति तथा कार्यक्रम प्रस्तुत गरेर छलफल गर्नु पर्ने व्यवस्था छ । सो व्यवस्थालाई आउँदो बजेट अधिवेशनमा मात्रै लागु हुने गरी निलम्बन गर्नलाई प्रदेश सरकारले अध्यादेश ल्याउने भएको छ । सो अध्यादेश बजेट प्रस्तुत हुनु भन्दा पहिले सदनबाट पास गरिने प्रवक्ता तथा कानुन मन्त्री जोशीले बताइन् ।
असार १ गते नै प्रदेश सरकारको बजेट प्रदेश सभामा पेश गर्नुपर्ने संबैधानिक व्यवस्थाअनुसार जेठ १६ गते प्रिबेजट र जेठ २५ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुपर्ने थियो । तर कोभिड–१९ संक्रमण र त्यसको चेनब्रेक गर्न गरिएको लकडाउनका कारण प्रक्रिया पुरा गर्न चुनौति देखिएकाले आउँदो बजेट अधिवेशनमा छोटो प्रक्रियाबाट बजेट ल्याउन लागिएको प्रवक्ता तथा कानुन मन्त्री जोशीले बताइन् ।
यसैगरी, मन्त्रीपरिषद् बैठकले डोटीको आदर्श गाउँपालिका ४ रोडीकी लक्ष्मी भाट र उनकी छोरी अञ्जु भाटलाई उपचारका लागि २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । उनीहरुलाई आगो लगाएर जलाइएको थियो । जलेर घाइते आमा छोरीको काठमाडौंमा उपचार भइरहेको छ ।
महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको प्रवक्ता तथा कानुन मन्त्री जोशीले जानकारी दिइन् । मन्त्रीपरिषद्को बैठकले नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी प्रदेश सरकारको प्रवक्तामा नियुक्त गरेको छ ।
FACEBOOK COMMENTS