प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिका-टिप्पणी गर्ने काममा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । गणतन्त्रप्रति वैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको उनको विश्लेषण छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रलाई गाली गर्ने प्रतिष्पर्धा चलेको बताए ।उनले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन छ । हिजो पनि केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्ममा उहाँहरू पुग्नुभयो ।’
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताए ।उनले भने, ‘बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, संसदमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोज्ने । राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि… । अदालतले त संविधान र कानूनको कुरा गर्ने हो । राजनीतिक होइन ।’
ओलीले नेपालको संसदमा खुर्सानीको धुलो बोकेर जाने र संसदको लडाईं माईकले हानेर गर्नेहरूसँगको लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै जित्ने विश्वास व्यक्त गरे ।उनले भने, ‘राजनीतिमा भ्रम फिँजाउन खोजिएको छ । त्यसकारण संसदमा खुर्सानीको धुलो बोकेर जानेहरू, संसदको लडाइँ माईकले हानेर गर्नेहरूसँगको यो लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै हामी जित्न सक्छौं भन्ने मैले विश्वास लिएको छु । त्यसकारण चिन्ता गर्नु पर्दैन भन्ने पनि म साथीहरूलाई आश्वस्त पार्न चाहन्छु ।’
FACEBOOK COMMENTS