काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न बंगलादेशमा सोमबार देखि कडा लकडाउन गरिने भएको छ। देशव्यापी हुने लकडाउन अघि मानिसहरु गृहनगर फर्किने क्रम बढेको छ। टर्मिनल स्टेशनहरुमा धैरै संख्यामा मानिसहरु भेला भएका छन्।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि नै रेल र बस सेवाहरु स्थगित गरिएको थियो। जसकारण मानिसहरु निजी सवारी साधन, भाडाको गाडीमा र हिँड्दै घर फर्कन बाध्य भएका छन्।बंगलादेशमा सोमबारबाट एक हप्तासम्म आपतकालीन काममा बाहेक कोही पनि बाहिर निस्कन पाउने छैनन्। त्यसकारण मानिसहरु आफ्नो घर फर्किने क्रम बढेको हो।
भारतमा देखिएको कोभिड-१९ को डेल्टा भेरियन्टका कारण बंगलादेशमा संक्रमणको दर बढेको छ। करिब ६ हप्ताअघि बंगलादेशमा संक्रमणको नयाँ लहर देखिएको हो। मे १५ मा २६१ संक्रमित पहिचान हुँदा २२ जनाको मृत्यु भएको थियो। शुक्रबार बंगलादेशमा ५ हजार ८६९ संक्रमित पहिचान हुँदा १०८ जनाको मृत्यु भएको थियो। त्यसपछि संक्रमण थप फैलिनबाट रोक्न सरकारले कडा लकडाउन गर्ने निर्णय गरेको हो।
संक्रमणका कारण हाल बंगलादेशका अस्पतालहरु बिरामीले भरिएका छन्। स्वास्थ्य सेवा प्रभावित हुँदा जोखिम झनै बढेको बताइएको छ।
FACEBOOK COMMENTS