काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले औद्योगिकरणविना मुलुकको दीगो विकास असम्भव हुने बताएका छन् । परिसंघका नवनिर्वाचित उपाध्यक्षहरूलाई सपथ ग्रहण गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले सो कुरा बताएका हुन् ।
सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने पनि बताएका छन् । औद्योगिकरण विना मुलुकको दीगो विकास असम्भव रहेको भन्दै उनले त्यसका लागि परिसंघले अब्बल भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यसैगरी सोही कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालू आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत् उत्पादकबाट उद्योगले विद्युत खरीद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी-अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।
त्यस्तै परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए ।
कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए ।
यो पनि पढ्नुहोस्–
उद्योग परिसंघको सात जना उपाध्यक्षमा को–को भए निर्विरोध निर्वाचित ?
FACEBOOK COMMENTS