काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सञ्चालित सि.सं. १४ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा आज मंगलबार एक कार्यक्रमका बीच उक्त तालिमकोे समापन गरेका हुन् । महानिरीक्षक खनालले तालिमका उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई पुरस्कार तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे ।
उनले दिक्षान्त समारोहलाई सम्बोधनका क्रममा संगठनलाई राष्ट्रको एक अब्बल सुरक्षा निकायको रुपमा स्थापना गर्न योगदान पुर्याउने अवकाश प्राप्त एवं वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुप्रति आभार प्रकट गर्दै विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा शान्ति सुरक्षा अमनचयन कार्यमा तल्लीन रहि अपराधमुक्त समाज र विकास निर्माणको आधार बनाउन पुर्याएको योगदानको प्रशंसा गरे ।
गत वर्षको भदौ २२ गतेदेखि सञ्चालन भएको उक्त तालिम ७६ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राई, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुख्यालय मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकृत लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS