काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६–७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो ।
हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमबारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६–७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो ।
तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६–७७ मा बैंकहरूले ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५–७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।
अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ ।
बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ ।
गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो ।
वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’
गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ ।
नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ । सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS