एजेन्सी । म्याड्रिड, रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ५–२ गोलले हरायो । खेलमा दुई पटक पछि परेको रियलले सानदानर पूनरागमन जित निकालेको हो । रियलको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे । भिनिसियस जुनियर र इडुआर्डाे कामाभिङगाले एक एक गोल थपेका थिए । सेल्टा भिगोका सान्टि मिना र फ्रान्को सेर्भीको गोल सान्त्वना गोलमा परिणत भयो ।
खेलमा सुरुआती अग्रता सेल्टा भिगोले लिएको थियो । चौथो मिनेटमा सान्टि मिनाले लागो आसपासको पासमा गोलगर्दै पाहुना टोलीको उत्साह जगाए । त्यसपछि रियलले २४औं मिनेटमा बराबरी गोल फर्कायो । बेन्जेमाले फेडेरिको भलभर्डेको पासमा बराबरी गोल गरेका थिए । ३१औं मिनेटमा फ्रान्को सेर्भीले गोलगर्दै सेल्टा भिगोलाई पुनः अग्रता दिलाए । रियलविरुद्ध ४१ प्रतिशत बल पोसेसन राख्न सफल सेल्टा भिगोले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
यता ५९ प्रतिशत बल पोसेसन राखेको रियलले दोस्रो हाफको सुरुवातमै गोल फर्कायो । ४६औं मिनेटम बेन्जेमाले गोलगर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ५४औं मिनेटमा भिनिसियसले बेन्जेमाको पासमा गोलगर्दै रियललाई अगाडी बढाए ।
७२औं मिनेटमा इडुआर्डाेले अर्को गोल थपे । यसै सिजन रियलमा आवद्ध भएका इडुआर्डाे डेब्यु खेलमै गोल गर्न सफल भएका हुन् । ८७ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोलगर्दै रियललाई सानदार जित दिलाए । ह्याट्रिक पूरा गरेका बेन्जेमा ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै रियलले शीर्षस्थान कब्जा गरेको छ । रियलले चार खेलबाट १० अंक बनाएको छ । पराजित सेल्टा भिगो एक अंक सहित १८औं स्थानमा छ । रियलसँगै समान १० अंक बनाएको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोल अन्तरमा आधारमा दोस्रो स्थानमा छ । आइतबार रातिनै भएको खेलमा साविक विजेता एट्लेटिकोले स्पान्योललाई २–१ गोलले हराएको थियो । अर्को खेलमा भ्यालेन्सियाले ओसासुनालाई ४–१ गोलले पराजित गर्यो । रियल सोसिडाडले १० खलाडीमा सिमित काडिजलाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।
FACEBOOK COMMENTS